Image description

महोत्तरी । मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले (फइलेरिया) विरुद्ध महोत्तरीमा सङ्गठित र साझा अभियान थालिएको छ । वैशाख १६ गते आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि सुरु गरिने १० दिने ‘आम औषधी सेवन अभियान’ मा कोही नछुटून् भन्ने अभिप्रायले यसलाई सङ्गठित र साझा अभियान बनाइएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस अभियानमा स्वास्थ्य सेवा प्रदायक सबै संस्था, स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घसंस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सफल बनाइने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।
 
अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयं सेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधी खुवाउने तरिकाबारे अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ । यसैगरी अभियानको पूर्ण सफलताका लागि वडा तहसम्म स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा, सञ्चारकर्मी र स्वास्थ्य सेवा प्रदायक संस्था आबद्ध व्यक्तिको साझा प्रयत्न अभियानमा जोडिएको प्रमुख स्वास्थ्य प्रशासक गुप्ताको भनाइ छ ।

 “यसपालि औषधी सेवनमा एकजना पनि नछुटून् भन्ने ध्येयसाथ योजना बनाएर काम भएको छ, अभियानमा खटिएका स्वास्थ्यकर्मीले व्यक्ति व्यक्तिलाई भेटेर आफ्नै अगाडि औषधी खुवाउने छन्”, गुप्ता भन्नुहुन्छ, “यसका लागि कुनै घरमा पटकपटक पुग्नुपरे पनि स्वास्थ्यकर्मी पुग्नेछन् ।” घरका सदस्यको गणनामा औषधी छोडिँदा सबैले नखाइदिने र बेवास्ता गर्ने  विगत अनुभवले यसपालि स्वास्थ्यकर्मीले आफ्नै अगाडि खुवाउने व्यवस्था मिलाइएको गुप्ताको भनाइ छ ।

 मुलुकका सात हात्तीपाइले निवारण हुन नसकेका जिल्लामध्ये महोत्तरी परेपछि यसविरुद्ध प्रभावकारी नतिजा निकाल्न यसपालि आम औषधी सेवन अभियानमा जनजन परिचालित गर्न खोजिएको कार्यालयले जनाएको छ । अभियानको सफलताका लागि वडा तहसम्म सम्बद्ध पक्षबीच चरण–चरणका छलफलले योजना बनेका  छन् । दुई वर्ष उमेर पुगेका सबैलाई उनीहरुको उचाइ मापन गरी आवश्यक मात्राको औषधी दिन अभियानमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई प्रशिक्षित गरिएको गुप्ताको भनाइ छ । यस अभियानमा दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डायलायसिस गर्नु परिरहेका स्वास्थ्य समस्याका बाहेक सबैलाई औषधी खुवाइने छ । यस अभियानअन्तर्गत यसपालि जिल्लाका सात लाख १६ हजार दुई सय६४ जनालाई औषधी खुवाइने गुप्ताले जानकारी दिनुभयो ।