Image description

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम सुरु भएको हो ।

 नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ । अस्पतालको पुरानो बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), अन्तरङ्ग (इन्डोर) सेवा रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन संरचना भत्काएर नयाँ संरचनाको काम थालिएको छ ।

 दैनिक हजारौँ उपचारका लागि आउने अस्पताल भएकोले संरचना हटाउँदा धुलो तथा वायु प्रदूषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम गरिरहेको आयोजनाका साइट इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो ।

एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले  छ अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको छ ।

भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्नेगरी गत पुस २६ गते भएको सम्झौता अनुसार विसं २०८५ पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।

 अस्पताल भवन बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको छ बिघा १२ कठ्ठा जग्गामा निर्माण हुँदैछ । अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् ।

 

 नयाँ अस्पताल भवनको छतमा हेलिप्याड रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आवतजावत गर्न मिल्ने व्यवस्थित लिफ्ट बन्नेछ ।

 क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बनाइने भएको छ । रासस