Image description

काठमाडौँ  । शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न अभियान सञ्चालन गर्ने भएको छ ।

एनसिईले सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी शिक्षाका लागि कार्य सप्ताहको आयोजना गर्न लागेको जानकारी गराएको हो ।

एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिनुभयो जसअन्तर्गत वैशाख १० गते माइतीघरमा दिउँसो १ देखि ३ बजेसम्म नागरिक समाजको भेला गर्ने कार्यक्रम रहेको छ ।

वैशाख १० देखि १५ गतेसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीहरूद्वारा पत्र लेखन तथा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा वैशाख १२ गते ‘सार्वजनिक शिक्षामा रूपान्तरण किन’ विषयक अन्तरक्रिया गरिने आयोजकको भनाइ छ ।

एनसिईले सार्वजनिक शिक्षा सुदृढीकरण गर्न सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सन् २००३ देखि नेपाललगायत विश्वका १५० भन्दा बढी मुलुकमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आएको छ ।

 यस वर्षको विश्वव्यापी अभियानले सरकारको प्रतिबद्धता पूरा गर्न र सार्वजनिक शिक्षा सुदृढीकरणका लागि रचनात्मक दबाब सृजना गरी शिक्षामा रुपान्तरण गर्ने लक्ष्यसहित कार्य सप्ताह मनाउन लागेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।