Image description

काठमाडौँ । काठमाडौँ महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् ।

 तीन दिनअघि काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो ।

 अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताउनुहुन्छ । उहाँले एक त अभिभावकले शुल्ककै मार खेपिरहेकै बेला भनेकै ठाउँमा किताब, पोसाकलगायतका सामान किन्न लगाउनु गलत कार्य रहेको बताउनुभयो ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार निजी तथा सरकारी विद्यालयमा कमिसनको चक्करमा पोसाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री सामान खरिद बिक्री गर्नु बेठीक छन् । किताब विद्यालयले बेच्ने होइन पसलेले बेच्ने उहाँको भनाइ छ ।

सबै विद्यालयले शैक्षिक सत्र २०८१ का लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा सूचीकृत भएका थप पाठ्य सामग्री मात्र प्रयोग गर्नुपर्ने, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका वा पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।