Image description

धनगढी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताउनुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताउनुभयो ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभयो ।

विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच बिस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताउनुभयो ।

प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा बिस्तार गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताउनुभयो ।

यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको र यस्कालागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।