Image description

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो ।

 मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गर्नुभएको हो । एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उहाँलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजवादी को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन् ।

 त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ ।

राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् । पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाउनुभएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एकीककृत समाजवादीलाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् ।