Image description

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आइतवारदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् ।

 गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिनुभयो ।

तथ्याङ्क अधिकृत तिवारीका अनुसार एक जना गणकले एक महिनामा कम्तीमा पनि दुई सय ५० घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको छ ।

 विभागका अनुसार सबैभन्दा धेरै गणक वडा नं १६ र ३२ मा २१-२१ जना खटाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र वितरण गरिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ ।

काठमाडौँ महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाअनुसार गरिब तथ्याङ्क सङ्कलन २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । रासस