Image description

मलेखु । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

 वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन् । शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताउनुभयो ।

 स्थानीय तामाङका अनुसार गङ्गाजमुना, खनियाबास र रुविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले नष्ट गरेको छ ।

 हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौ लगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहो¥याएर अर्को बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताउनुभयो ।

फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ ।

 मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुसी असिना पानीले नष्ट पारिदिएको गङ्गाजमुना–१ ताजिमग्राङका इमान तामाङले बतानुभयो । कृषि पेसामा निर्भर हुँदै आएकाहरुको खुसी पलभरमै निराशामा बदलिएको उहाँको भनाइ छ ।

 खनियावासको झार्लाङ, रुविभ्यालीको तिप्लिङ र गङ्गाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ ।