Image description

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् ।

चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताउनुभयो । उहाँले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताउनुभयो ।

खोपको म्याद यही पुस ७ गतेसम्म मात्र छ । उहाँले खोप त्यतिकै खेर जान थालेपछि उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको बताउनुभयो ।

नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन पठाउन अनुरोध भएको थियो ।

आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताउनुभयो ।

त्यतिबेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोग नगर्ने भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले खेर जान थालेको खोपबारे अझै निर्णय नभएको बताउनुभयो । उहाँले चीन बाहेक अन्य देशमा पठाउन नसके यही खोपलाई ‘डिस्पोजल’ गरिने बताउनुभयो । अहिलेसम्म नेपालमा छ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप आइसकेको छ ।