

भक्तपुर । बिहीबार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालन हुँदै छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
बोर्डले एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा यसअघि नै पु¥याइसकेको छ । उहाँले यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने जानकारी दिनुभयो ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।
नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै उहाँले देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गर्नुभयो ।
यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिने भएका छन् । यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । रासस
प्रतिक्रिया