धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई सुशासन र आर्थिक विकासका काममा असफल हुने छुट नरहेको बताउनुभएको छ ।
बिहिवार धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, सुशासन आर्थिक विकासका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“यो सरकार संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, डा. कोइरालाले भन्नुभयो ।
नेपाली काँग्रेस सस्थापन इतरका प्रमुख नेता तथा पार्टीको आगामी महाधिवेशनमा सभापति पदका प्रवल उम्मेदवार डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको स्पष्ट पार्नुभयो ।
नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन शुक्रवार धनगढी पुग्नुभएको हो । उहाँलाई उल्लेख्य संख्यामा उपस्थित नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया