काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् ।
यस क्रममा झण्डै ५ हजार जनाले हवाई यात्रा गरेका छन् । गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म ४ हजार ७ सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।
महाप्रबन्धक तिवारीका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ । तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै ३ हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फलाई दुबईले १ हजार १ सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाबाट १९ जनालाई दुबई लगेको तथ्याङ्क छ ।
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने २ हजार ५ सय ३३ यात्रु भैरहवा ओर्लिएका छन् ।
साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् । एक महिनामा कूल १सय ५६ उडान-अवतरण भएको छ । सोही अवधिमा थाइ एयर एसियाले ४ सय ४७ यात्रुलाई सेवा दिएको छ । त्यस्तै कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ ।
महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यलेभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ ।
अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ । सिधा र लोकस्ट-एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको छ ।
वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ ।
पछिल्ला दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सङ्घीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं सङ्घसंस्थासँग नियमितजसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ । रासस
प्रतिक्रिया