संभव मिडिया सर्भिस प्रा. लि

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

  अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन । अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।

कम्पनीको यो लगानी डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार, क्लाउड कम्प्युटिङलगायतका क्षेत्रमा केन्द्रित हुनेछ ।


Advertisement

बर्लिनमा मङ्गलबार आयोजित सरकारी व्यावसायिक शिखर सम्मेलनका क्रममा अमेजनले यस्तो घोषणा गरेको हो । सुस्त अर्थतन्त्रलाई गति दिन र उच्च प्रविधिका क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न प्रयासरत जर्मनीका लागि यो घोषणा महत्वपूर्ण मानिएको छ ।

अमेजनका प्रमुख विश्वव्यापी मामिला तथा कानुनी अधिकारी डेभिड जापोल्स्कीले जर्मनीलाई नवप्रवर्तनको केन्द्र तथा युरोपमा लगानीका लागि आकर्षक गन्तव्यका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार कम्पनीले सन् २०१० यता जर्मनीमा १०० अर्ब युरोभन्दा बढी लगानी गरिसकेको छ ।

जर्मनीकी अर्थमन्त्री क्याथरिन राइचेले अमेजनको नयाँ लगानीले अन्तरराष्ट्रिय प्रविधि प्रतिस्पर्धामा देशको स्थिति बलियो बनाउने बताउनुभयो । यसबाट आर्थिक मूल्य सिर्जना हुनुका साथै रोजगारीका अवसरसमेत बढ्ने उहाँको भनाइ छ ।

एआई र क्लाउड पूर्वाधारमा प्राथमिकता

अमेजनको कुल लगानीमध्ये करिब पाँच अर्ब युरो फ्रान्कफर्ट क्षेत्रमा खर्च गरिनेछ । यो रकम कम्पनीको क्लाउड कम्प्युटिङ सेवा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को पूर्वाधार विस्तारमा उपयोग गरिनेछ । एआई सेवाको माग बढ्दै गएपछि कम्पनीले यस क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न लागेको हो ।

यसका साथै, अमेजनले आफ्नो स्याटेलाइट सञ्जालमा आधारित उच्च गतिको इन्टरनेट सेवा ‘अमेजन लियो’ मा पनि लगानी गर्ने योजना बनाएको छ ।

कम्पनीले गोदामहरूमा रोबोटिक्स प्रविधिको प्रयोग बढाउँदै सञ्चालन प्रणालीलाई आधुनिक बनाउने जनाएको छ । त्यस्तै, अमेजनको भिडियो स्ट्रिमिङ सेवा प्राइम भिडियोले जर्मनीमा थप सामग्री निर्माण तथा छायाङ्कन गर्ने योजना बनाएको छ ।

मङ्गलबार सम्पन्न उक्त लगानी सम्मेलनमा जर्मनी र अन्य देशका २०० भन्दा बढी व्यावसायिक नेतृत्व सहभागी भएका थिए ।

अर्थतन्त्रलाई गति दिने जर्मनीको प्रयास

जर्मन सरकारले सुस्त अर्थतन्त्रलाई पुनः गतिशील बनाउन स्वदेशी तथा विदेशी कम्पनीलाई थप लगानी गर्न र आफ्नो व्यावसायिक गतिविधि विस्तार गर्न प्रोत्साहित गरिरहेको छ । यद्यपि, जटिल प्रशासनिक प्रक्रिया, उच्च ऊर्जा लागत र दक्ष जनशक्तिको अभावले लगानीको वातावरणमा चुनौती सिर्जना गर्दै आएका छन् ।

सम्मेलनमा बोल्दै चान्सलर फ्रेडरिक मर्जले आफ्नो गठबन्धन सरकारले दशकौँयताकै महत्वाकांक्षी सुधार तथा आधुनिकीकरण अभियान सुरु गरेको बताउनुभयो । उहाँले सुधारका कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सरकारका प्राथमिकतामा कर कटौती, प्रशासनिक झन्झट न्यूनीकरण र वित्तीय बजारलाई सुदृढ बनाउने विषय छन् ।

र्थमन्त्री राइचेले यसअघि एक रेडियो अन्तर्वार्तामा सम्मेलनमा सहभागी विभिन्न कम्पनीले हालसम्म २२० अर्ब युरोभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभएको थियो ।

यसैबीच, चान्सलर मर्जले सोमबार एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग छलफल गर्दै सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बर्लिनले एनभिडियासँग औद्योगिक क्षेत्रमा एआईको प्रयोग विस्तार गर्ने उद्देश्यसहित साझेदारी घोषणा गरेको थियो ।

बलियो उत्पादन क्षेत्र भएको जर्मनीले उद्योगमा एआईको प्रयोग बढाएर आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ । (रासस/एएफपी)

प्रतिक्रिया

ad
TOP