logo
शनिबार, २८ भाद्र २०८२

‘उद्यम र रोजगारीका क्षेत्रमा पनि महिलालाई अगाडि बढाउनुपर्छ’

‘उद्यम र रोजगारीका क्षेत्रमा पनि महिलालाई अगाडि बढाउनुपर्छ’

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आइतवार आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रपति, प्रधानन्यायाधीश लगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।”

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको बताउँदै उहाँले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गियर त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गियर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।”

प्रधानमन्त्रीले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अबसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवद्र्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताउनुभयो । रासस

ताजा अपडेट
TOP