logo
सोमबार, ३० भाद्र २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण

काठमाडौँ । सरोकारवालाहरुले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायुप्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज शनिवार दोस्रो दिन ‘दिगो सहरहरु र समुदायहरु’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायुप्रदूषण सहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको भन्दै चिन्ता जनाउनु भएको हो ।

यस सत्रका वक्ताहरुले जलवायुजन्य विपद्का कारण सहरहरु असुरक्षित रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिनुभयो ।

सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ सहर विकास गर्दा विपद्मैत्री सहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा सहरहरुले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताउनुभयो । सहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले सहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपदमैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

सगरमाथा संवादमा सो सत्रको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । रासस

ताजा अपडेट
TOP