

काठमाडाैँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बिहीबार परम्परागत रूपमा विभिन्न रङ र अबिर खेली होली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको देखिन्छ ।
बिहीबार काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने चलन छ ।
उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । बिहीबार हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया