logo
२ चैत्र २०८१, शनिबार

जलवायु परिवर्तनको असरले जीवनयापनमा कठिनाइ : सभामुख

जलवायु परिवर्तनको असरले जीवनयापनमा कठिनाइ : सभामुख

काठमाडाैँ ।  सभामुख देवराज घिमिरेले हिमाल कालादेखिन थाल्नु नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण रहेको बताउनुभएको छ ।

‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ ले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उहाँले हिमाल जोगाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

“सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको सङ्केत हो,” घिमिरेले भन्नुभयो, “यसले पानीका मुहान सुकाउने र मानिस तथा जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरेको छ ।”

विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरूले अत्यधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको उहाँको भनाइ छ ।

बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको भन्दै सभामुख घिमिरेले नेपालको वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्नका लागि निरन्तर प्रयासरत रहनुपर्नेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीका सामाना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारको सहकार्य अपरिहार्य छ,” उहाँले भन्नुभयो, “विशेषगरी, जीवनयापन सङ्कट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनाबद्ध प्रयास आवश्यक छ ।”

जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिको भूमिका पनि अपेक्षित रहेको सभामुख घिमिरेको भनाइ छ । उहाँले संसद् र सांसदहरूले जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण पहल गरिरहेको जानकारी गराउनुभयो ।

TOP