

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साेमबार बस्ने भएकाे छ । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेकाे बताइएकाे छ ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले साेमबारदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने बताउनुभयाे । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उहाँले बताउनुभयो ।
पार्टीको बैठकमा गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले जानकारी दिनुभयो । साथै संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ-आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ ।
लामो समय पछि संचालन हुनलागेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया