विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को शनिवार विराटनगरमा उद्घाटन गर्दै उहाँले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको चर्चा गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको बताउनुभयो । नेपालले ऋणको भार बढ्न नदिन विआरआई सम्झौताबाट विभिन्न परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएको उल्लेख गर्नुभयो
ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र कांग्रेस बलियो हुने बताउँदै सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्छ भन्नुभयो । सम्मेलनबाट पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणाम पार्टीका निम्ति सकारात्मक एवं उत्साहजनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाई पनि कांग्रेसले नै लिने उहाँले बताउनुभयो ।
पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै पार्टीमा एकता हुनु आवश्यक छ भन्नुभयो । पार्टीलाई सुसङ्गठित एवं प्रभावकारी बनाउन नेतादेखि कार्यकर्तासम्म एकता हुनुपर्नेमा जोड दिदै संविधान र व्यवस्थालाई रक्षा गर्न यो राजनीतिक समीकरण भएको उहाँले स्पष्ट पार्नुभयो ।
कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाको सभापतित्वमा भएको सम्मेलनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार, डा शशांक कोइराला, डा प्रकाशशरण महत, राजीव कोइराला, अमृत अर्याल, सरिता प्रसाईं, डिला सङ्ग्रौला लगायतका नेताहरूले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया