Image description

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

 नेपाल टेलरिङ व्यवसायी महासङ्घको आज यहाँ आयोजित राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा जनताको पूर्ण समर्थन पाइरहेकाले स्थायित्वमा कुनै शङ्का नगर्न सुझाव दिनुभयो ।

 उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पार्नुभयो ।

 नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधैँ तयार रहेको पनि बताउनुभयो ।

 उपप्रधानमन्त्री खड्काले नेपालमा टेलरिङ व्यवसाय प्राचीनकालदेखि नै मर्यादित र विशिष्ट व्यवसायका रुपमा परिचित रहेको उल्लेख गर्नुभयो ।

 उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायमा संलग्न व्यक्तिलाई मौलिक व्यावसायिकता र विश्वास कायम राखेर सङ्गठन विस्तारमा ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

 उप्रप्रधानमन्त्री खड्काले भन्नुभयो, “व्यवसायीले कर, राजस्व, ब्याज, ऋण र लगानीबारे उठाएका प्रश्नबारे निजी क्षेत्रसँग छलफल भइरहेको छ, मुलुकको पहिचन र मौलिक संस्कृतिका रुपमा रहेको टेलरिङ व्यवसायको विकास र विस्ताका लागि सरकारको साथ र सहयोग रहन्छ ।”

 भ्रष्टाचार, बेथितिलगायत मुलुकको अप्ठेरो परिस्थितिलाई सुधार गर्दै सरकार अघि बढिरहेको बताउँदै उहाँले सुशासन कायम गरी आर्थिक स्थितिमा सुधार ल्याउन सरकार दृढ रहेको धारणा व्यक्त गर्नुभयो ।

 नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको पहिचान बोकेको तथा परम्परालाई जोगाउन योगदान पु¥याउँदै आएको टेलरिङ व्यवसायले व्यक्ति विशेषको व्यक्तित्व झल्काउने र  पहिचान दिलाउन मद्दत पुर्‍याएको बताउनुभयो ।

 महासङ्घका केन्द्रीय सदस्य नानिराज घिमिरेले मुलुकमा रोजगारी सिर्जना गर्न र व्यापार घाटा कम गर्न टेलरिङ व्यवसायले ठूलो योगदान दिने भएकाले यस क्षेत्रमा संलग्न हुनेलाई व्यावहारिक तालिम प्रदान गर्न आवश्यक विचार प्रकट गर्नुभयो ।