Image description

विराटनगर । कोशी प्रदेशसभाको शुक्रवारको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

 प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा सो सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो ।

सभामुखले मत विभाजन गरी निर्णयार्थ प्रस्तुत गर्नुभएको प्रस्तावका पक्षमा ५२ जना, तीन तटस्थ र विपक्षमा रहने सदस्यहरु सहभागी हुन नचाहेकाले प्रस्ताव बहुमतले पारित भएको ब्यहोरा पढेर सुनाउनुभयो ।

नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायतका प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले सङ्कल्प प्रस्तावको समर्थन गर्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने बताउनुभयो ।

 छलफलकै क्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई सङ्कल्प प्रस्तावको समर्थन नगरे पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिई संविधान पालना गर्नुपर्ने बताउनुभएको थियो ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले आफूले संविधान र कानुनअनुसार नै काम गरेकाले सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।