Image description

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शुरु हुँदै छ ।  सो बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुदैछन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु हुने छ ।

सो बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत हुने एमाले प्रचार विभागले जनाएको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहना अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ । परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुने जानकारी दिइएको छ । रासस