Image description

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पार्नुभयो । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सवलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताउनुभयो ।

पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्षहुने विश्वास गर्नुभयाे।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।”

पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उहाँले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको माग सम्बोधन गर्दै औद्योगिक वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो । सो अवसरमा निजी क्षेत्रमा उद्योगी व्यवसायीका छाता सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो ।रासस