Image description

धनगढी ।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखले मंगलवार गर्नुभएको आह्वानमा असहमति जनाउनुभएको छ ।

प्रदेश प्रमुखले यसअघि मुख्यमन्त्री नियुक्तिका लागि पेस गरिएको दुई प्रदेशसभा सदस्यको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको जनाउँदै मंगलवार पुनः दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

 प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट दुई जनाको दाबी पेस भएको आधारमा निष्कर्षमा पुग्न नसकिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बहुमत सदस्यको समर्थन जुटाउन सक्नेलाई यही वैशाख ६ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गरिएको छ ।

यसअघि प्रदेश प्रमुखले गएको चैत २३ गतेमुख्यमन्त्रीमा दाबी पेस गर्न विसं २०८१ वैशाख २ गते साँझ ५ बजेसम्मको समयसिमा तोक्नुभएको थियो ।

मंगलवार भएको आह्वानलगत्तै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले साँझ संयुक्त पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखले संविधानविपरीत कदम चालेको आरोप लगाएका छन् । रासस