Image description

पोखरा । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ ।

बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो ।

यही वैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा केबलकारकोसमेत विधिवत्रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिनुभयो । पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेष्टुरेन्ट व्यावसायिकरुपमा सञ्चालनमा आएका छन् ।

केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी सञ्चालन ल्याइएको मण्डलले बताउनुभयो । सर्वसाधरणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ ।

बन्दीपुरहिलअन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन् । यहाँ आउने पर्यटकले बिना कुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोख्रेलले बताउनुभयो ।

 मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरुप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन् । रासस