Image description

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतवारको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिनुभयो ।

 अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेसले आक्रोस र पीडाले जेपायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ ।” सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उहाँले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिनुभयो । अधिवेशन अन्त्यलाई सामान्यरुपमा लिनुपर्ने र स्वभाविक प्रक्रिया भएको उहाँले बताउनुभयो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफनो पार्टीले राखेको मागलाई बेवास्ता गर्दै चालु सदन अन्त्य निर्णयप्रति असहमति रहेको प्रतिक्रिया दिनुभयो । सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय छानबिन समिति गठन होस् भनी नेपाली कांग्रेसले माग गरी आएको जनाउँदै उहाँले सुशासनप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

 नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटाले सोच अनुरुप प्रभावकारी ढङ्गबाट चालु विधेयक अधिवेशनलाई सञ्चालन गर्न नसकिएको प्रतिक्रिया दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले सरकारमा विभिन्न राजनीतिक दलको सहभागिता भए पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन अन्त्य गर्ने मामिलामा प्रत्येक सरकार असफल भाएको प्रतिक्रिया दिनुभयो । रासस