Image description

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताउनुभएको छ ।

 नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले २०८० साल पूरा भई नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

 नयाँ वर्षको सुरूआतसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन प्रधानमन्त्री दाहालले आह्वान गर्नुभएको छ । रासस