Image description

काठमाडौँ ।  सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो ।

 कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैशाख १ गते देखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

वडाअध्यक्ष तिवारीले अर्बौं लगानी रहेको ठमेल क्षेत्रको व्यापार– व्यवसायलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आचारसंहितामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।

 परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गर्दा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक एवम् परिषद्का उपाध्यक्ष प्रश्रय राजभण्डारीले नेपाल घुम्न आएका ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने भएकाले उक्त क्षेत्रको विकासका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो ।