Image description

बागलुङ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैतेदसैँ मेला आजदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठीको आयोजनामा सुरु भएको मेला नेपालकै ऐतिहासिक मेलामध्येमा पर्दछ । मेला सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्नुका साथै स्थानीय उत्पादनको खरिदबिक्री हुन थालेको छ ।

मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिदबिक्रीका लागि स्टलहरु राखिएको व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले तीन सय वर्षभन्दा पुरानो मेलालाई निरन्तरता दिँदै आइएको बताउनुभयो ।

बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँमा आउने भक्तजनले स्थानीय उत्पादनको खरिदबिक्री गर्ने चलन बढेसँगै चैतेदसैँको मेलाका रुपमा अहिलेसम्म निरन्तरता पाएको छ ।

 कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस, कुखुराको बली दिने गरिन्छ ।

पहिलापहिला चैतेदसैँका लागि भनेर वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने गरिएको रामरेखाका ८५ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गर्नुभयो ।

उक्त मेलामा पुरुष भलिबल, दोहोरी छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरदेखि शालग्राम सङ्ग्रहालयसम्म दाँडलगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

यस पटक  आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा १ करोड बढीको कारोबार हुने अपेक्षा लिइएको छ । चैतेदसैँको मेला सुरु भएसँगै धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको व्यवस्थापन समितिले जनाएको छ । रासस