Image description

काठमाडौँ । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिवार एक सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

यसअघि काठमाडौँका विभिन्न स्थानमा दुई महिनासम्मका लागि भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो ।

यस्तै, गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ ।

 गृह मन्त्रालयले  प्रेस विज्ञप्तीमार्फत विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उछृङ्खल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जानकारी दिएको हो ।

 नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत जनाएको छ ।

 उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफनो कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण सङ्कलन भइरहेको तथा शिघ्र कारबाहीसमेत गरिने बताउनुभयो ।

आन्दोलनका क्रममा भएका वा हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बील पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।