Image description

मजुवा । गुल्मीको चन्द्रकोट गाउँपालिका-८ स्थित  तुराङ-गेखुङ् फाँटका खेतमा सिंचाइ सुविधा पुगेपछि यतिबेला हराभरा भएको छ ।

 सिंचाइ अभावले हिउँदमा उजाड बन्ने खेतका फाँटमा यसवर्षको चैत महिनामा मकैको बिरुवा बढीरहेका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको आयोजनामा हुग्दीखोला‐तुराङ सिंचाइ योजना अन्तर्गत पक्की नहर निर्माण भएपछि सहजसंग खेत सिंचित भएका हुन ।

सिंचाइको असुविधा रहेको गेखुङ र तुराङफाँटमा सिंचाइ सुविधा पुगेपछि ठूलो राहत मिलेको स्थानीय उपभोक्ता भुबन बस्नेतले बताउनु भयो ।

सिंचाइ योजनाको काम सम्पन्न गर्ने म्यादभन्दा एक महिना अगावै बाबुल पन्थ जेभी कम्पनीले एक करोड ९० लाखको ठेक्का मार्फत उक्त सिंचाइ योजना सम्पन्न गरेको हो ।

 बाँझिन लागेका खेतमा नहरको पानी पुगेपछि किसान निकै खुसी र उत्साहित बनेको हुग्दीखोला‐तुराङ सिंचाइ योजना उपभोक्ता समितिका अध्यक्ष लोकनाथ पोख्रेलले बताउनुभयो ।

सिँचाइ योजनाअन्तर्गत मूल नहरको लम्बाइ ४ हजार ६ सय मिटर छ । नहरबाट ८५ हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ पुगेको छ । सिंचाइले त्यस क्षेत्रका एक सय ४४ घरधुरीका १ हजार १७९ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित बनेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख भरतप्रसाद सापकोटाले बताउनुभयो ।

ठेकेदार कम्पनीका प्रतिनिधि  निर्माण व्यवसायी गगन केसीले सम्झौता समय अगावै योजना सम्पन्न गरेपनि भुक्तानी पाउन नसकेको गुनासो सुनाउनुभयो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्रमुख सापकोटाले आवश्यकताभन्दा न्यून बजेट प्राप्त भएको र थप बजेट निकासा हुन नसकेको बताउनुभयो । उहाँले थप बजेटका लागि मन्त्रालयमा पहल गरिएको जानकारी दिनुभयो । रासस