Image description

नेपालगंज । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का बासिन्दा रहेका छन् ।

 उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा वैजनाथ–८ का धीरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु रहेको वैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले जानकारी दिनुभयो ।

वडाध्यक्ष थारुका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरु नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

सो दुर्घटनामा ७ नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकको पनि मृत्यु भएको थियो । बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्वानीमा राखिएको जानकारी दिनुभयो ।

उनीहरु सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दैआएका थिए । सोमबार काम सकिएपछि जीप भाडामा लिएर सबैजना भारतको टकनपुर हुँदै हुँदै महेन्द्रनगर आउँदै थिए । बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । रासस