Image description

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले विद्यमान र सम्भावित लगानीकर्तालाई आवश्यकपर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताउनुभयो ।

सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सिर्जना गरिएको बताउनुभयो ।