Image description

काठमाडौँ । “नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन”, हालैको एक सार्वजनिक कार्यक्रममा पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले भन्नुभयो ।

 यही चैत १३ गते नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवमा ढकालले बोर्ड अहिले लथालिङ्ग भएको र निकै कमजोर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मुलुकको पर्यटन प्रबर्द्धन गर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले सोहीअनुसार सञ्चालन हुन नसक्दा उद्देश्यबिमुख अवस्थामा पुगेको उहाँको बुझाइ छ ।

“बोर्ड अहिले सही नीति र नेतृत्वको अभावले थलिएको छ, विभिन्न बाहनामा बोर्डलाई लथालिङ्ग बनाउने काम भयो”, उहाँले भन्नुभयो । पूर्वसचिव ढकाल पछिल्लो समय बोर्ड पर्यटन प्रबर्द्धनको मुख्य काम छाडेर आन्तरिक काममा बढी रुमलिएको बताउनुहुन्छ ।

 “विषय विज्ञभन्दा बढी राजनीतिज्ञ हावी हुँदा बोर्ड कमजोर बनेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबर्द्धन गर्नुपर्ने मुख्य जिम्मेवारीबाट बोर्ड बिमुख बन्दै गएको”, उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रबर्द्धन नै उल्लेख छ ।

 “अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलका रुपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, बिस्तार तथा प्रबर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो”, ऐनमा भनिएको छ ।

 बोर्ड सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना भएको हो । बोर्डमा निजी क्षेत्रका पाँच र सरकारका पाँच गरी १० जना र एक सिइओ गरी ११ सदस्य रहने व्यवस्था छ । बोर्डका अनुसार बोर्डले पछिल्लो अन्तर्राष्ट्रिय कार्यक्रम गरेको पनि १० महिना हुन लाग्यो ।

सन् २०२३ जुनमा जापनको होकाइदोमा नेपाल प्रबर्द्धन कार्यक्रमपछि कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएको छैन । चालु आर्थिक वर्षमा त एउटा पनि कार्यक्रम तय भएको छैन ।

 अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलालाई मुलुकको पर्यटन प्रबर्द्धनका लागि उपयुक्त थलोका रुपमा लिइन्छ । यस्ता मेला विश्वको पर्यटन ट्रेन्डबारे जानकारी लिने, आफ्नो मुलुकको पर्यटन प्रबर्द्धन गर्ने तथा सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण मानिन्छन् । तर त्यस्ता मेलामा पछिल्लो समय पर्यटन बोर्डको उपस्थिति भने निकै कमजोर बनेको छ ।

 यद्यपि अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा निजी क्षेत्रका पर्यटन व्यवसायीले भने आफ्नै पहलकदमीमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबर्द्धन भने गरिरहेका छन् । रासस