Image description

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पूरा गर्नु रहेको बताउनुभएको छ ।

 ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार’ भन्ने नारासाथ शुक्रवारदेखि प्रारम्भ भएको आठौँ लमजुङ महोत्सव, २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई बेसीसहरमा सम्बोधन गर्दे उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ, मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौँ जुन ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले राजनीतिक दल, सरकार र नीति निर्माताहरूले सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना हो भन्ने भुल्नु हुँदैन भन्नुभयो ।

 निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता छ भन्दै उहाँले जलविद्युत्का धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हने धारणा व्यक्त गर्नुभयो ।

 देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले सो क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र सम्वद्र्धन तथा यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवर्दधन, औद्योगिक पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । रासस