Image description

लमही । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरु सहमत भएका छन् ।

एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो ।

 सहमतिअनुसार राजनीतिक नियुक्तिहरु सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो ।