Image description

पोखरा  । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ । संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मङ्गलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ ।

 यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोक्नुभएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

 गण्डकी प्रदेशसभामा कूल ६० सदस्य छन् । यहाँ सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । यस प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।