Image description

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बिहीबार प्रदेशसभाबाट लिन लाग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ ।

पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित पत्रमा नाउपा, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको र संसदीय दलको नेताको रुपमा घनश्याम चौधरीले काम गरे पनि प्रदेशसभाको महत्वपूर्ण निर्णयमा पार्टीको केन्द्रिय अध्यक्षलाई ह्विप लगाउने अधिकार भएकाले मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरिएको उल्लेख छ ।

 अध्यक्षको पत्र सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराथारुले मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभाका सदस्य आज अर्को निर्देशन (ह्विप) जारी गर्नुभएको छ ।

 सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रमुख सचेतक डगौराथारुले जारी गर्नुभएको पत्रमा यही चैत २२ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले आफूमाथि विश्वासको मत छ भनी पेस गर्नुहुने प्रस्तावको पक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न र तटस्थ नबस्न राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्देशन (ह्विप) जारी गरिएको उल्लेख छ ।