Image description

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

 चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको शनिवार उद्घाटन गर्नुहुँदै उहाँले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याउनुभयो ।

राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उहाँको भनाइ थियो ।

 राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्याङ्कन गर्नुपर्नेबेला भएको बताउनुभयो ।

 ठूलो त्याग, बलिदान र सङ्घर्षबाट हामीले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताउनुभयो ।

 “सफल राजनीतिक आन्दोलनको कार्यभार पूरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहीँकतै द्विविधा हुनुहुँदैन”, उहाँले भन्नुभयो । “म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा पनि भाग्दिन, अर्थात् देश विकास नै मेरो अभिष्ट तथा अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

 “यस क्षेत्रको विकासका लागि यो पुल कोसेढुङ्गा सावित हुनसक्छ भन्ने मलाई लाग्छ, किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्ररुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालिग्राममार्गलाई कालीगण्डकी करिडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु”, राष्ट्रपति पौडेलले  भन्नुभयो । रासस