Image description

काठमाडौँ  । गत फागुन २३ गते बिहान नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आउनुभएकी सुलोचना सापकोटा पाठक कलेज पढाउन जाने तरखरमा हुनुहुन्थ्यो ।

एकबिहानै सुलोचनाका देवरले फोन गर्नुभयो । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौँ आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गर्नुभएको रहेछ ।

मध्यरातको २ बजे श्रीमानसंग फोन सम्पर्क गरेर सुत्नुभएकी सुलोचना देवरको फोनसँगै आत्तिनुभयो । उहाँले श्रीमान्लाई पटकपटक फोन सम्पर्क गर्न खोज्नुभयो तर श्रीमान्को फोन लागेन । त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी जानुभयो । सुलोचनाको भने जाने हिम्मत बनेन । उहाँ पछि मात्र त्यहाँ पुग्नुभयो । प्रकाश पहिले पनि दुर्घटनामा पर्नुभएको थियो । सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो ।

स्थानीयवासी, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । “प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ”, सुलोचना भन्नुहुन्छ ।

लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौँ आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् ।

उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउनुहुन्छ ।

यस्तै गत चैत ५ गते सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित ९ जनाको मृत्यु भयो ।

पत्रकार परियार दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौँ आउँदै हुनुहुन्थ्यो । दलित पत्रकार सङ्घको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपनाका साथ काठमाडौँ आउनुभएका पत्रकार परियारको बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु भयो ।

बागमती प्रदेशको ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा र २ जनाको अस्पतालमा निधन भएको थियो ।

बस सडकबाट अन्दाजी १५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

यसैगरी गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा नजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए ।

प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उहाँका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो ।

माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् ।

 सडक दुर्घटनाबाट गत ५ वर्षमा ११ हजार ३०५ जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार ७२६ व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा १ हजार ३०३ जनाले अकालमा ज्यान गुमाएका छन् ।

 यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म २९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउनुहुन्छ ।

यस्तै  लुम्बिनी प्रदेशमा २६१, कोशी प्रदेशमा २१९, बागमती प्रदेशमा १७३, सुदूरपश्चिम प्रदेशमा १०४, गण्डकी प्रदेशमा १००, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

सोही अवधिमा २३ हजार ५ दुर्घटना भएका छन् । दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ११ हजार ६१९ , मधेस प्रदेशमा ५ हजार ८०, कोशी प्रदेशमा २ हजार ८३०, बागमती प्रदेशमा १ हजार २२१, लुम्बिनी प्रदेशमा ९२९, कर्णाली प्रदेशमा ८०६ , गण्डकी प्रदेशमा २९२ र सुदूरपश्चिम प्रदेशमा २२८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउनुहुन्छ ।

चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट ३ हजार ६४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार ७ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आव २०७६/७७ मा २ हजार २५१, आव २०७७/७८ मा २ हजार ५००, आव २०७८/७९ मा २ हजार ८८३ र आव २०७९/८० मा २ हजार ३६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

यस्तै आव २०७६/७७ मा ४ हजार ६१५, आव २०७७/७८ मा ६ हजार ४४८, आव २०७८/७९ मा ७ हजार २८२ र आव २०७९/८० मा ५ हजार ७३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् । अच्युत रेग्मी/रासस