Image description

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गते मंगलवारदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ ।

 कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।

 सन् २०१९ देखि २०२२ सम्म कतारमा नेपाली राजदूत हुनुभएका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउनुहुन्छ ।

कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मक रूपमा न्यून छ । कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन् । जबकि कतार तुलनात्मक रूपमा विकसित र धनी मुलुक हो । भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ ।

 कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ । तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनुपर्छ ।

 त्यस्तै कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ । तर नेपालले यसमा प्रतिबन्ध गरेको छ । यद्यपि भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम नेपाली महिलाको सङ्ख्या ठूलो छ । जुन व्यवस्थित पनि हुनसकेको छैन । घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ ।

कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्न क्षेत्रमा आह्वान गर्नुपर्छ । कतारले विश्वमा धेरै मुलुकका विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । नेपालमा पनि कानुनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्छ ।

रियलस्टेट, जलविद्युत्, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्छ ।

 नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले नेपाली कामदारको हकहितका लागि कतारसँगको विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

 दुईदिने भ्रमणका अवसरमा कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै कतारका अमिरले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नुहुने छ । वार्तापछि दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ ।

कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौँबाट प्रस्थान गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।