Image description

भक्तपुर ।  बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पु¥याइएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।

अध्यक्ष प्रा डा शर्माका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

यस पटकको एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक  पौडेलका अनुसार परीक्षाका लागि  २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो ।  जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

प्रश्न पत्र र उत्तरपुस्तिका जिल्ला-जिल्लामा :

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ ।

परीक्षाका लागि उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पुरा भएको जानकारी आएको बताउनुभयो ।

जनशक्ति बोर्डका अनुसार एसइर्ई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् ।

त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले ४ हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २ सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले ५ हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार ९ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या थप हुन सक्ने पौडेलको भनाइ छ ।

 परीक्षा नियन्त्रक पौडेलका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ ।