Image description

सुर्खेत । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो ।

आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ  ।

दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो ।

उहाँको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ ।  शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ ।

शेरबहादुरले भन्नुभयो “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उहाँले बताउनुभयो । उहाँले दुखेसो पोख्नुभयो ,“सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।

त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले  पालको आवश्यकता भएको बताउनुभयो ।

एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भन्नुभयो, “नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।” 

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पु¥याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गर्नुभयो ।

नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ ।

भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताउनुभयो । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ ।

त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा हुनुहुन्थ्यो । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो । रासस

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताउँनुभयो ।

“केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ”, 

अध्यक्ष गिरीले भन्नुभयो, “घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।”

उहाँले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताउनुभयो ।

“यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ”, उहाँले भन्नुभयो, “घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।” भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताउनुभयो । 

“हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।” 

उहाँ जस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् ।

तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् ।

मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ ।