Image description

सुर्खेत ।  जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ ।

अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।

 खलङ्गाबाट डेढघण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् ।

अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उहाँले बताउनुभयो । विकले भन्नुभयो, “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।”

उहाँ जस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ । उनीहरुले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

चोचे टोलमा १४ जनाको मृत्यु

यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । 

मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र  अन्य दुईजना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ ।

तेह्र जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र  एकजनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो ।

मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरु तिहार मनाउन घर फर्किएकामा  तिहार मनाउन नपाउँदै मृत्यु भयो । 

स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आउनुभएको थियो । चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किनुभएकी उहाँको भूकम्पमा परी मृत्यु भयो । त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए  तर भूकम्पका कारण गाउँका सबैजनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ । 

केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ । भिउसन कुमाइँको चार जनाको परिवारको भूकम्पमा परेर मृत्यु भएको छ ।

भकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहासंस्कार हुनसमेत ढिलाइ भएको थियो । उनीहरुलाई निकाल्न नै समय लागेकाले दाहासंस्कार आज गरिएको हो । रासस