Image description

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गर्नुभएको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताउनुभएको छ ।

महासचिव गुटेरेसको सम्बोधनपछि रासससँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले  नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रसङ्घको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पुर्‍याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ । छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।”

सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गर्नुभयो ।

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफैँ पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छाैं भनी देखाउनुभएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।”

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन  भएको बताउनुभयाे ।

पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति  श्रद्धाञ्जलि सम्मानका लागि गर्नुभएको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिनुभयो ।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पुर्‍याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राख्नुभएको  भनाइ आफैँमा उच्च कोटीको रहेको टिप्पणी गर्नुभयो ।

यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गर्नुभएको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले जानकारी दिनुभयाे । रासस