Image description

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उहाँले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिनुभयो ।

उहाँले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्च गरिने जानकारी पनि दिनुभयो ।

“गत साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनः निर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको बताउनुभयाे ।