Image description

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उहाँहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको मंगलबार उद्घाटन गनुहुँदै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताउनुभयो ।

उहाँले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्नुभयो ।

उहाँले राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक भएको र यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् भन्दै प्रकृति र संस्कृतिको यो अनुपम सगमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य भएको बताउनुभयो ।

उहाँले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भूल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गर्नुभयो । 

नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उहाँले एनआरएनएलाई अनुरोध गर्नुभयो ।

राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले एनआरएनएको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनुको साथै नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेमा उहाँको विश्वास छ ।