Image description

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ ।

उहाँले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको बताउनुभयाे ।

मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरुसँग समन्वय गर्न आवश्यक छ ।”

उहाँले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् । ”

उहाँले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गर्नुभयो ।