Image description

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले लाखौँ युवालाई देशभित्रै उत्पादन तथा सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताउनुभयो ।

“एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रताका साथ अघि बढ्नेछौँ भने अर्कोतिर देशभित्र लाखौँ युवाहरू उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौँ”, उहाँले भन्नुभयो, “युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री शर्माले यो क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्नका लागि साइबर सुरक्षा नीति पारित भएको बताउनुभयो ।

अहिले नेपालमा बौद्धिक व्यक्ति पलायन ठूलो समस्याका रूपमा देखिन थालेको उल्लेख गर्दै उहाँले नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चितता गर्ने क्षेत्रका रूपमा सूचना प्रविधि हुने पनि दाबी गर्नुभयो ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गर्ने तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उहाँको भनाइ छ ।

यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा ‘डिजिटलाइजेसन’लाई प्रभावकारी बनाउन सबै सरोकारवाला उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

 सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री शर्माले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको बताउनुभयो ।