Image description

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउनुभएको छ ।

जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न शनिबार गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनेतर्फ सरकार लागि रहेको बताउनुभयो ।

उहाँले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी विधयेक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुनेसमेत उल्लेख गर्नुभयो ।

विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहनुभएका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहनुभएका बेला साविकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनुभएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत हुनुभएको थियो ।

सत्र वर्ष शिक्षण सेवामा बिताउनुभएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिनुहन्थ्यो ।

गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिनुभएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावको हुनुहुन्थ्यो ।